ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफू बसेको वडा कार्यालयमा स्वयं उपस्थित हुन लाभग्राहीलाई अनुरोध गरेको छ । गाउँ कार्यपालिकाले १० असोजभित्र लाभग्राहीले आफू बसेको वडा कार्यालयमा स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण फारम भरी बुझाइसक्नुपर्नेछ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारनाथ प्रसाईंका अनुसार तोकिएको मितिमा फारम भरेर बुझाई नसक्ने लाभग्राहीको सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने छैन । गाउँपालिकाले बैंक खाता खोल्न बाँकी रहेका लाभग्राहीले पालिकाको केन्द्रस्थित राष्ट्रिय वाणिज्य बैंकको हाङपाङ शाखामा स्वयं उपस्थित भइ १० असोजभित्रै बैंक खाता खोल्न सूचित गरेको छ ।
लाभग्राहीले नागरिकता र जन्मदर्ताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, लाभग्राही परिचयपत्रको फोटोकपी, विधवाको हकमा श्रीमान्को मृत्यु दर्ता एवं एकल महिलाको हकमा वडाबाट एकल महिला प्रमाणित गरेको कागजको प्रतिलिपि र अपांगता भएका लाभग्राहीको हकमा अपांगता परिचयपत्रको प्रतिलिपि संलग्न राख्नुपर्नेछ । तर, अपांगता परिचयपत्र भने अनिवार्य रूपमा स्थानीय तहले नै प्रदान गरेको हुनुपर्ने र नभएकाले स्थानीय तहबाट लिनुपर्ने सर्त गाउँपालिकाले राखेको छ ।