काठमाडौं– प्रतिनिधिसभामा विचाराधीन बजेट (विनियोजन विधेयक–२०७८) लाई सरकारले नियमित प्रक्रियाबाटै पास गर्ने भएसँगै ३० भदौबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको छ ।
अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा टेबल गरेका थिए । मंगलबार एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भयो ।
अध्यादेश टेबल भएको मितिले ६० दिन अर्थात भदौ ३० गतेसम्म संसदका दुबै सदनबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने थियो । सरकारले पेश्की विधेयक ल्याएर नियमित खर्च गर्न सक्थ्यो । पेश्की विधेयक पनि नल्याएकाले केही दिनका लागि राज्यकोषबाट खर्च गर्न नपाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ५/७ दिन राज्यकोषबाट खर्च नहुने बताए ।