काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदान प्रस्ताव गरेको छ ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।
बर्खाका ६ महिना नेपालबाट विद्युत् बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बर्खाका महिनामा २४ सै घन्टा २ सय मेगावाट एवं राती ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ । बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परे उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिने छ,’ घिसिङले भने । यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिए बर्खामा नेपालमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष नेपाललाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिने उनको भनाइ छ ।
‘यदि पारस्परिक विद्युत् आदान–प्रदानको यो मोडल कार्यान्वयनमा ल्याउन सकिए दुई मुलुकबीच विद्युत् कारोबारको कोसेढुंगा हुनेछ । यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौँ । केही दिनभित्र यसबारे ठोस निर्णय आउने विश्वास छ ।’
घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिनेछ ।
हिउँदयाममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम प्रयोग हुनेछ । अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर बिन्दुबाट २४सै घन्टा विद्युत् नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनीलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ ।
राती ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिनेछ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुनेछ ।
बर्खामा उत्पादित विद्युत् आन्तरिक रूपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिइन् ।
बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जासम्बन्धी विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन थिए ।
टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदान–प्रदानका विषयमा छलफल एवं प्रस्ताव पेस गरेको थियो ।
साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायत विषयमा भारतीय अधिकारीसँग विस्तृत छलफल गरेको थियो ।
प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनासँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये १ सय ११ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।
आयोजनाको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजना वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् ।
१ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजना वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा छन् । भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारी, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारी एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम र पावर टे«डिङ कर्पोरेसन (पिटिसी) का पदाधिकारीसँग विस्तृत छलफल गरिएको थियो । घिसिङले भने, ‘यसको नतिजा केही दिनमा आउन सक्छ ।’