वाग्मती– वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ३ लाख ९८ हजार बेरुजु फछ्र्यौट गरेर ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ ।
गत आवमा ८ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ ४ करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा ५ करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए । कार्यालयले आव २०७७/७८ मा ५ अर्ब ९९ करोड ३८ लाख राजस्व शंकलन गरेको जनाएको छ । लक्ष्यभन्दा ६० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार राजस्व संकलन आव २०७६/७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७÷७८ मा उक्त वर्षको लक्ष्य ५ अर्ब ३९ करोड ९४ लाख रहेकामा ५ अर्ब ९९ करोड ३८ लाख राजस्व संकलन भएको छ । कार्यालयको करदाता सेवा शाखाका अनुसार उक्त आवमा थप ४ हजार २ सय ९१ व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धिकरतर्फ ४ सय ४२ नयाँ व्यवसाय दर्ता भएकोे छ । उक्त आवमा थप ८ हजार ३ सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ ।