पर्वत– सात स्थानीय तहमा झण्डै १० करोड रुपैयाँ बेरुजु देखिएको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तहमा ९ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले गएको शुक्रबार सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार पर्वतका सातवटा पालिकाको ६ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १.२४ प्रतिशत बेरुजु देखिएको हो ।
महालेखाको प्रतिवेदनअनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुश्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैँयु गाउँपालिकामा देखिएको छ । कुश्मा नगरपालिकामा १ अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखा परीक्षण गर्दा ५ करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ । कुश्माको बेरुजु प्रतिशत तीन दशमलव २० प्रतिशत देखिएको छ ।
त्यसैगरी फलेवास नगरपालिकामा १ अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा १ करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ । फलेबासको बेरुजु प्रतिशत एक दशमलब आठ प्रतिशत छ । पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ । पैंयुमा ६६ करोड ६९ लाख ४५ हजारको लेखा परीक्षण गर्दा २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ । पैँयुको बेरुजु प्रतिशत शून्य दशमलव ३२ प्रतिशत छ । पर्वतमा पैँयुपछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ । मोदीमा १ अर्ब तीन करोड १९ लाख ९१ हजारको लेखा परीक्षण गर्दा ३८ लख ९३ हजार बेरुजु देखिएको छ । मोदीको बेरुजु शून्य दशमलव ३८ प्रतिशत छ । महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत शून्य दशमलव ४८ प्रतिशत छ । महाशिलामा ६२ करोड ३० लाख ६ हजारको लेखा परीक्षण गर्दा २९ लाख ८४ हजार बेरुजु देखिएको हो ।
यस्तै पर्वतको बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत दुई दशमलव १२ प्रतिशत छ । बिहादीमा ५५ करोड ६९ लाख ९२ हजारको लेखा परीक्षण गर्दा १ करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ । यस्तै जलजला गाउँपालिकामा एक दशमलब ०६ प्रतिशत बेरुजु देखिएको छ । जलजलामा ९३ करोड ६८ लाख ४६ हजारको लेखा परीक्षण गर्दा ९९ लाख २६ हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकामा गत आवको तुलनामा बेरुजु घटेको देखिएको छ । देशभरका स्थानीय तहको औषत बेरुजु प्रतिशत पाँच रहेको छ ।