दोलखा– दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको दोलखा जिल्लामा स्थानीय तहहरुले गर्ने खर्चमा वार्षिकरूपमा बेरुजुको सीमा नाघ्दै गएको छ । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनअनुसार दोलखा जिल्लामा मात्रै ३७ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ ।
बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधिभन्दा बाहिर गएर सीमा मिची मनपरी खर्च गर्दा दोलखामा एउटै पालिकामा १२ करोडसम्म बेरुजु निस्किएको छ ।
स्थानीय तहहरुले खर्च प्रणाली पारदर्शी नगर्ने, विधि प्रक्रियाभन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्नेजस्ता कार्यले गर्दा दोलखाको स्थानीय तहहरुमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । जिल्लाको नौ स्थानीय तहमा यो वर्ष महालेखाले कूल ८ अर्ब ५७ करोड ७४ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षणमा ३७ करोड ६६ लाख ९५ हजार बेरुजु देखाएको छ ।
सबैभन्दा बढी बेरुजु बैतेश्वर गाउँपालिका छ भने सबैभन्दा कम बेरुजु कालीञ्चोक गाउँपालिकाको रहेको छ । बैतेश्वर गाउँपालिकामा ८८ करोड ५८ लाख ६० हजारको लेखापरीक्षण गरिएकामा १२ करोड ४८ लाख ४२ हजार अर्थात् कूल खर्चको १४.०९ प्रतिशत खर्च बेरुजु देखिएको छ ।
त्यस्तै कालीञ्चोक गाउँपालिकामा ९८ करोड ४२ लाख ९४ हजारको लेखापरीक्षण गर्दा १ करोड ३० लाख १७ हजार कूल खर्चको १.३२ प्रतिशत रकम महालेखाले बेरुजु देखाएको छ ।
जिल्लाको दुई नगरपालिकामा पनि बेरुजुको प्रकृति उस्तै रहेको पाइएको छ । जिरी नगरपालिकाको ८७ करोड ७२ लाख २० हजारको लेखापरीक्षण गर्दा २ करोड ९२ लाख ३१ हजार बेरुजु रहेको छ भने भीमेश्वर नगरपालिकाको १ अर्ब ६७ करोड ७४ लाख २० हजारको लेखापरीक्षण गरेकोमा ३ करोड ४६ लाख ७८ हजार बेरुजु पाइएको छ ।
मेलुङ गाउँपालिकाको ६५ करोड ३८ लाख ७१ हजारको लेखापरीक्षण गर्दा ४ करोड ३७ लाख ९८, गौरीशङ्कर गाउँपालिकाको ७१ करोड २२ लाख ३४ हजार लेखापरीक्षण गर्दा ४ करोड १० लाख ४१ हजार तथा शैलुङ गाउँपालिकाको ९५ करोड ८४ लाख ७० हजारको लेखापरीक्षण गर्दा ४ करोड ४६ लाख ३५ हजार, विगु गाउँपालिकाको ७४ करोड ८५ लाख २४ हजारको लेखापरीक्षण गर्दा २ करोड ६७ लाख ५८ हजार र तामाकोशी गाउँपालिकाको १ अर्ब ७ करोड ९५ लाख ६० हजारको लेखापरीक्षण गरिएकामा १ करोड ८६ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको हो ।