खोटाङ– मासिक बचत गर्दै आएका आमा समूहलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बिउ पुँजी रकम उपलब्ध गराएको छ ।
हालसम्म मासिक ५ देखि ५० रुपैयाँका दरले बचत गर्दै ऋण लगानी गरिरहेका १५ वटा आमा समूहलाई नगरपालिकाले प्रतिसमूह १ लाख रुपैयाँका दरले बिउ पुँजी रकम उपलव्ध गराएको हो ।
नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमूलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ पछि फिर्ता गर्न नपर्ने गरी बिउ पुँजी रकम प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख विमला राईले बताइन् ।
आमा समूहलाई आर्थिक वर्ष २०७७÷७८ मा महिला लक्षित कार्यक्रमअन्तर्गत विनियोजित १५ लाख रुपैयाँ बजेटबाट बिउ पुँजी रकम उपलब्ध गराइएको हो ।
११ वडा रहेको नगरपालिकामा हाल १०५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आबद्ध भएका र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियाशील रहेको समूहलाई छनोट गरेर बिउ पुँजी रकम प्रदान गरिएको हो ।
नगरपालिकाले उपलव्ध गराएको १ लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको ब्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बाख्रा, बंगुर, तरकारी खेतीलगायत व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गरिने छ ।
समूहबाट ऋण लिने व्यक्तिले ९ देखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने उपप्रमुख राईले बताइन् ।
‘नगरपालिकामा क्रियाशील आमा समूहले मासिक बचत गर्दै आएका छन् । तर, उनीहरूले उत्पादनमूलक क्षेत्रमा ऋण लिने/दिने गरिरहेका छैनन् । आम्दानीबिनाको बचत भइरहेको छ,’ उपप्रमुख राईले भनिन्, ‘आगामी दिनमा आमा समूहले ऋण प्रवाह गर्छ । त्यो ऋणबाट बाख्रा, बंगुरपालन वा तरकारी खेती गरेर ९ देखि १२ महिनाभित्र त्यही आम्दानीबाट ऋण चुक्ता गर्नुपर्ने हुन्छ । त्यसको नगरपालिकाबाट अनुगमन गर्ने व्यवस्था गरेका छौँ ।’
नगरपालिकाका गठित आमा समूहले ३५ हजारदेखि ३÷४ लाख रुपैयाँसम्म बचत गरिसकेका छन् । महँगो ब्याजदर भएकाले कतिपय ऋणीलाई निर्धारित समयमा ऋण वा ब्याज फिर्ता गर्न समस्या हुने गरेको छ ।
आगामी दिनमा आमा समूहले ऋण लगानी गर्दा बैंकको ब्याजदरभन्दा बढी ब्याज लिन पाउने छैनन् । ‘हालसम्म बिनाउद्देश्य वा बचतका लागि बचत मात्र गरिरहेका आमा समूहको पुँजी वृद्धि गर्दै व्यावसायिक कामका लागि ऋण प्रवाह गर्ने÷गराउने र आयआर्जनमा टेवा पुर्याएर उपलब्धिमूलक बनाउने हाम्रो लक्ष्य हो,’ उपप्रमुख राईले भनिन्, ‘अब मासिक बैठक हुन्छ । भेला हुन्छ । त्यसका माध्यमबाट महिलाको सशक्तीकरणमा पनि टेवा पुर्याउने नगरपालिकाको योजना छ ।’
नगरपालिकाले आगामी आर्थिक वर्षको बिउ पुँजी घुम्ती कोषका लागि पनि ३० लाख रुपैयाा विनियोजन गरेको जनाएको छ ।