कैलाली– कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ७९ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । बिहीबार दसौँ नगरसभाबाट नगरपालिकाले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
नगर उपप्रमुख अञ्चला चौधरीले आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ७९ करोड ७० लाख १६ हजार रुपैयाँको बजेट पेस गरिन् । कृषि, पर्यटन र पूर्वाधार, समृद्ध गौरीगंगाको आधार नारासहित गौरीगंगा नगरपालिकाको दसौँ नगरसभामा बजेट प्रस्तुत गरिएको हो ।
बजेटमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट १६ करोड ७३ लाख, ससर्त अनुदानबाट २१ करोड ८० लाख, समपुरक अनुदानबाट ४३ लाख, संघीय विशेष अनुदानबाट ७५ लाख प्राप्त हुने अनुमान नगरपालिकाको छ ।
यस्तै, मूल्य अभिवृद्धि कर शुल्क ११ करोड ९९ लाख ३१ हजार, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट १करोड १० लाख, सवारी साधन करबाट ७३ लाख ५१ हजार, वन रोयल्टीबाट ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यसैगरी प्रदेश सरकारबाट बाँडफाँट हुने वित्तीय समानीकरण अनुदान १ करोड २३ लाख १७ हजार, समपुरक अनुदानबाट १ करोड २ लाख ७० हजार, विशेष अनुदानबाट २५ लाख, सामाजिक सुरक्षा कार्यक्रम अनुदानबाट १५ करोड, आन्तरिक आम्दानीबाट ८ करोड ३० लाख ४७ हजार रुपैयाँ प्राप्त हुने बजेट अनुमान गरिएको छ ।