मोरङ- विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
चालु वर्षको बजेट १० महिनामा १ अर्ब ३३ करोड २९ लाख २१ हजार मात्रै खर्च भएको छ । तीन अर्ब ६३ करोड पूँजीगत बजेट १० महिनामा ८८ करोड ५४ लाख ९१ हजार मात्रै खर्च भएपछि बजेटको सिलिङ घटाइएको हो ।
नगर उपप्रमुख इन्दिरा कार्कीले पेश गरेको बजेटमा चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान पेश गरिएको छ ।
महानगरले वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च गर्नेछ भने चालुतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ ।
बजेटमा वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार आम्दानी हुने अनुमान छ । ९५ करोड आन्तरिक आय हुने अनुमान गरेको महानगरले ३१ करोड ३८ लाख मात्रै आन्तरिक आम्दानी गरेको छ ।
महानगरले वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ ।
पूर्वाधार विकासका लागि महानगरले २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।