काठमाडाैं- नगर विकास कोषसँग तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत महेन्द्रनगर, कटारी र मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच आयोजनामा थप लगानीका लागि ऋण सम्झौता भएको छ ।
यी ३ वटै आयोजनामा थप लगानीका लागि बुधबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अजय शाहबीच २६ लाख ५६ हजार रुपैयाँको ऋण सम्झौता भएको छ ।
यस्तै, कार्यकारी निर्देशक सापकोटा र महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भवानीप्रसाद धिमालबीच ७८ लाख ६७ हजार रुपैयाँको ऋण सम्झौता भएको छ ।
यसैगरी कटारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दोजराज पौडेल र कार्यकारी निर्देशकबीच ४६ लाख १० हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
यी आयोजनामा भएको भेरियसन र मूल्य समायोजनका कारण बढेको थप लागतको २५ प्रतिशत रकम कोषको तर्फबाट ऋण, सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत उपभोक्ता संस्थाबाट बेहोरिनेछ ।
तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गतका यी योजना कार्यान्वयनका क्रममा भएको भेरिएसन र मूल्य समायोजनका कारण लागत बढ्न गएकाले गुणस्तरीय रूपमा समयमै सम्पन्न गराउने उद्देश्यले ऋण सम्झौता गरिएको हो ।
यी ३ वटै आयोजनामा गरिएको थप लगानीले योजना समयमै सम्पन्न भई सम्बन्धित क्षेत्रका उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्राप्त हुने तथा ऋण असुलीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा कोषको छ ।