काठमाडौं । तिहारको दोस्रो दिन मुलुकभर कुकुर तिहार मनाउँदैछ । घरघरमा पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ। आज कुकुरलाई मीठामीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
घरपालुवा कुकुरको पूजाआजा गरी कुकुर तिहार मनाइन्छ तर, सडकका भुस्याहा अर्थात् सार्वजनिक कुकुरलाई कुनै तिहारले छुदैनन् । सडकका कुकुरको संरक्षण र नियन्त्रणको जिम्मेवारी स्थानीय तहको भए पनि सो अनुरुप काम नभएको आरोप कुकुर संरक्षण अभियानताहरूको छ । पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गए पनि उनीहरूको संरक्षण हुन नसकेकोमा दुखेसो पोख्छन् ।
कुकुर संरक्षण अभियानता बद्रीप्रसाद ढुंगानाको अनुसार भुस्याहा कुकुर संरक्षणको लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले आवश्यक योजना बनाउन सकेको छैन ।
भुस्याहा कुकुरको संरक्षणको लागि सरकारले आवश्यक नीति, कानुन, कार्यविधि तथा कार्यक्रम बनाएर पालना गर्नुपर्ने उनी बताउँछन् । ‘भुस्याहा कुकुर संरक्षणको लागि स्थानीय सरकार र केन्द्रीय सरकार दुवैले ध्यान दिएको पाइँदैन,’ उनले भने, ‘सरकारले कुकुर संरक्षणको लागि आवश्यक नीति नै ल्याउन सकेको छैन ।’
सामुदायिक कुकुरहरूलाई हेयको दृष्टिले हेर्ने र यातना दिनेजस्ता काम भएकोमा उनले दुखेसो पोखे । उनले सामुदायिक कुकुरको संरक्षणका लागि स्थानीय तहले पनि कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । केही स्थानीय तहले भुस्याहा कुकुरको संख्या नियन्त्रणको लागि गर्भनिर्धारणको कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले सडकको छाडा कुकुरको संख्या नियन्त्रणको बन्ध्याकरण कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ । पालिकको अनुसार नगरभित्र रहेका भुस्याहा कुकुरलाई रेविजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । पशु शाखा अनुसार पालिकाले वडागत रुपमा कुकुर सम्बन्धि विभिन्न कार्यक्रम रुपमा सञ्चालन गरिँदै आएको छ ।
यससँगै ललितपुर महानगरपालिकाले कुकुरको संख्या सूचीकरण गर्ने योजना बनाएको छ । महानगरपालिकाले भुस्याहा कुकुरको संख्या नियन्त्रणका स्थानीय तहले विभिन्न योजना बनाउँदै आएको जनाएको छ । पशु सेवा शाखा अमर रायले कुकुर पाल्ने घरबाट कर लिएर ट्याग लगाउने कार्यक्रम सञ्चालन गरेको बताए ।
उनले कुकुरको संख्या नियन्त्रणका लागि सडकका कुकुरको बन्ध्याकरण, रेविज खोप लगाउँदै आएको बताएको छ । उनले कुकुरलाई अन्य पशुको तुलनामा फरक व्यवहार हुने भएकोले सोही अनुरुप योजना बनाउनुपर्ने जनाएका छन् ।
काठमाडौं महानगरपालिकाले भुस्याहा कुकुरको संरक्षणको लागि योजना बनाएको बताए । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पालिकाले कुकुरको संख्या नियन्त्रणको लागि बन्ध्याकरण कार्यक्रम तथा रेविजको खोपको व्यवस्था गर्दै आएको बताए ।