सबैभन्दा पहिले, नेपाल संघीय गणतन्त्रमा रूपान्तरित भएपछि दोस्रो पटक सम्पन्न स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने समस्त जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना ।
निर्वाचन कहिल्यै एक्लै लडिँदैन । प्रतिस्पर्धी बिनाको निर्वाचन न सुन्दर हुन्छ, नत लोकतान्त्रिक नै । प्रतिस्पर्धा बिना लोकतन्त्रले कहिल्यै स्थायित्व ग्रहण गर्न सक्दैन । त्यसैले स्थानीय तह निर्वाचनमा उठेर हार व्यहोरेकालाई पनि बधाई ! अनि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जितको उन्माद त्याग्न आग्रह पनि । हारेकाले पनि पाँच वर्षसम्म आफ्नो गाउँ र नगरलाई समृद्धिको मार्गमा हिँडाउन निरन्तर सकारात्मक खबरदारी गर्न सकुन्, यो पनि कामना !
पालिका खबर मिडिया हाउसको समाचार टिमको नेतृत्व गर्न पाउनु आफैँमा सुखद पक्ष हो । त्यसमाथि समाजको अगाडि बोल्न नसक्ने वा बोल्न नै नदिइने तल्लो वर्गको आवाजलाई माथिल्लो तप्कासम्म पुर्याउने उद्देश्यबाट सञ्चालित सञ्चार माध्यमसँग आबद्ध हुँदा थप जिम्मेवारी बोध अनि रोमाञ्चक हुनु स्वाभाविकै पनि होला ।
केही दिन अघि फेरि एक पटक मनाइएको गणतन्त्र अब शिशु छैन । ताते ताते गरेर हिँड्ने बालक रहेन । क्रमशः यो युवा बन्दै छ । भन्ने हो भने अब हाम्रो गणतन्त्र त्यस्तो अवस्थामा पुगेको छ, तातेर सेलाउन ठिक्क परेको मैन जस्तै । अब यसलाई कस्तो आकार दिने ? सही या गलत कस्तो मार्गमा हिँडाउने ? यो सबै हाम्रो हातमा छ ।
निकै लामो समय व्यथित भइसक्यो, नेपालमा राजनीतिक स्थिरता आउन नसकेको । अझ भनौँ, अहिलेको युवा पुस्ता त अस्थिर राजनीति भोग्दा भोग्दै बिरक्तिएका छन् । स्थानीय तह निर्वाचनमा हर्क सम्पाङ, बालेन साह, गोपाल हमालको जितबाटै उनीहरूको मनोभाव बुझ्न सकिन्छ । अस्थिरताका कारण अनेकौँ छन् । त्यसमध्ये एउटा हाम्रो राजनीतिज्ञमा रहेको सत्ताको चरम लोभ पनि हो । सत्तामा पुर्याउने जनताले सडकमा नांगेझार पनि बनाउन सक्छन् भन्ने उदाहरण अहिले ठुला सहर बाहेक अन्य केही पालिकाका मतदाताले पनि देखाएका छन् । आफ्नो विवेकलाई बन्धक नराखी मतदान गर्ने मतदातालाई पनि बधाई !
पत्रकारिताको धर्म खबरदारी गर्नुका साथै राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न सक्नु पनि हो । तर, अहिले हाम्रो पत्रकारिता नै मार्गबाट विचलित बने झैँ भएको छ । राजनीतिक दलको छायाँ झैँ बनेको छ ।
पत्रकारिता कै माध्यमबाट समाजका तल्लो तप्काको चेतना स्तरमा सुधार त ल्याउन सकिन्छ । तर, मानिसको मस्तिष्कमा जमेर रहेको स्वार्थ र दम्भलाई सफा गर्न सकिँदैन ।
हुनत म र मेरो टिम पनि निष्पक्ष छैनौँ । हामी सधैँ जनताको पक्षमा उभिन्छौँ । जनताको बोली बोल्छौँ । राज्य संचालन गर्ने तल्लोदेखि माथिल्लो तहसम्मलाई शिष्ट र मिठो भाषामा खबरदारी गरी रहन्छौँ ।
हो जनताको सुख दुख सतहमा ल्याउँदा हामी निष्पक्ष बन्ने छैनौँ । हामीले जनताको आवाज बाहिर ल्याउँदा कतिपयका गाला रातो पनि बन्लान् । हामी केही शासकको विरोधी पनि देखिन सक्छौँ । तर, त्यसमा हामीलाई दुख लाग्ने छैन ।
पत्रकारिता कै माध्यमबाट समाजका तल्लो तप्काको चेतना स्तरमा सुधार त ल्याउन सकिन्छ । तर, मानिसको मस्तिष्कमा जमेर रहेको स्वार्थ र दम्भलाई सफा गर्न सकिँदैन ।
उदाहरण हाम्रै सामु छर्लङ्ग छ । हुनत हाम्रा पूर्वज र समकालीनले कलम कै माध्यमबाट व्यवस्था परिवर्तनको आँधी चलाए । सफलता पाए । तर, राजनीतिक दलका केही नेतामा सामन्तको अवशेषका रुपमा जरा गाडेर बसेको सोचमा परिवर्तन ल्याउन सकिएन । त्यसैले कलमबाट मात्रै मानिसको मस्तिष्कमा जमेर रहेको कपटको जालो हटाउन सकिँदैन भन्नु अनर्थ नहोला । तर, त्यस्ता नवसामन्तहरूलाई खबरदारी गर्दा कहिल्यै थाक्ने छैनौँ ।
बस्, यहाँहरूको साथको अपेक्षा छ ।
धन्यवाद !
चेतन पाण्डे
प्रधान सम्पादक