काठमाडौं । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा करेन्ट लागेर एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले विद्युत्मा अचानक ओभार भोल्टेज आएका कारण भएको विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु र ११ जना घाइते भएको पालिका खबरलाई जानकारी दिए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।
घटनामा परी पशुचौपायामा पनि क्षति पुगेको उनले बताए । ‘ओभर भोल्टेजका कारण करिब २०० घरमा क्षति पुगेको छ । घटनामा परी पशुचौपायाको पनि मृत्यु भएको छ । घाइतेहरूको बनी अस्पतालमा भइरहेको छ,’ उनले भने ।घटनामा परी मृत्यु भएकाको शव पोस्टमार्टमका लागि लगिएको उनले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले करेन्ट लागेर अन्दाजी ४९÷५० वर्षीया सिता केसीलाई थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिए ।
घटनामा परी घाइते हुनेहरूमा ४० वर्षीया बुद्धिराम दर्जी, ३० वर्षीया टीका दर्जी, ४५ वर्षीय वीरबहादुर क्षेत्री, ३५ वर्षीया देवी क्षेत्री, २६ वर्षीया विनिता आचार्य, ५२ वर्षीया जयप्रसाद शर्मा, ५२ वर्षीया सरस्वती आचार्य, १२ वर्षीया पूर्णिमा आचार्य, ६३ वर्षीया जगन गिरी र २१ वर्षीया सरिता क्षेत्री रहेका छन् ।